ललिता निवासका अस्थायी सबै संरचना हटाउन सात दिन

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो ।

स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उहाँको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थानमा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । आज कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदाम घर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ ।

उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । रासस


ताजा खबर