नेपालको ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक

विवेकशील साझा पार्टीले ‘गौरवमय सांस्कृतिक मानचित्र’ भनेर नेपालको ऐतिहासिक भूभाग सहितको नक्शा सार्वजनिक गरेको छ।

ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी विवेकशील साझाले नक्शा सार्वजनिक गरेको हो। नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान समेत चलाइने विवेकशील साझाले जनाएको छ।

विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले भनेका छन्, “अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो।”

भारतले नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर ‘अखण्ड भारत’ को नयाँ नक्शा राखेको थियो। यसमा नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कूटनीतिक नोट समेत नपठाउनु विडम्बना भएको विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए। परियारले भने, “यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।”

सुगौली सन्धि अगाडिको नेपालको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको उपाध्यक्ष परियारले बताए। यसमा सगरमाथादेखि बौद्ध स्तूपसम्म, पशुपतिनाथदेखि काँक्रेबिहारसम्मका पुरातात्त्विक महत्त्वका सम्पदा समेटिएको छ। त्यस्तै, मानसरोवरदेखि गंगा मैदानसम्मका धरोहरलाई नक्शाङ्कन गरिएको छ।


ताजा खबर