चिनियाँ खर्बपति व्यवसायी ज्याक मा काठमाडौंमा 

 चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ व्यवसायी ज्याक मा नेपाल भ्रमणमा आएका छन् ।

हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमनका अधिकारीले जानकारी दिएका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो । जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो । ‘चीनको अमेजन’को रुपमा चिनिएको उक्त कम्पनीको हाल १ खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ ।

२०२० मा भने ज्याक मा सरकारको आलोचना गरेपछि एकाएक सार्वजनिक जीवनबाट हराएर नोभेम्बरमा जापानको राजधानी टोकियोमा देखा परेका थिए । सन् २०२० मा चिनियाँ सरकारले सुरु गरेको प्रविधि क्षेत्रमाथिको नियमन प्रयासको आलोचना गरेपछि उनी रहस्यमय रूपमा सार्वजनिक जीवनबाट हराएका थिए ।

ज्याक मा पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रुपमा पनि चिनिएका छन् । उनले विभिन्न सहरमा युवाहरूलाई दिएका प्रवचन विश्वभर चर्चामा छन् । रासस


ताजा खबर