स्थानीय तहको आव २०८०/८१ को बजेट सार्वजनिक

धेरैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० सम्म स्थानीय तहले नगरसभामा बजेट पेश गर्नुपर्ने हुन्छ ।

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतवार काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको बजेट चालू आवको भन्दा झन्डै १३ करोड रुपैयाँले बढी छ । चालू आवका लागि महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरको बजेटमा चालूतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा केही योजना तथा कार्यक्रम वडाबाटै सञ्चालन गर्ने गरी पौने ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा व्यवस्था भएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन हुने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छु ।’

यस अनुसार महानगरले ३२ वडाका लागि प्रतिवडा ८ करोड ६१ लाख ५ हजार ४३७ रुपैयाँ विनियोजन गरेको छ ।  महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवर्द्धनका लागि ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड र नगर अस्पतालका लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिकाले आगामी आव २०८०/८१ का लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ । आइतवारको नगरसभामा ललितपुरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालूतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । बजेटमा महानगरले सम्पदा, सडक पूर्वाधार, एक वडा एक उद्यानलगायतका विषयमा जोड दिएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आवका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट ल्याएको छ । भरतपुरको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनस्र्थापनाजस्ता क्षेत्रमा रकम विनियोजन भएको छ । त्यस्तै गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि संघीय सरकार र बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिने बताइएको छ ।

विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले १२औं नगरसभामा ३ अर्ब २८ करोड रुपैयाँको बजेट पेश गरेकी छन् । चालू वर्षका लागि विराटनगर महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । विराटनगर महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार खर्च हुने अनुमान गरेको छ । सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजारमध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आवका लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले आगामी आवको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् । वीरगञ्जले चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ र पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्ट्याइएको छ । वीरगञ्जको आगामी वर्षको बजेट चालू वर्षको तुलनामा १२ करोड २८ लाख रुपैयाँले कम छ ।

बजेटमा यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्ट्याइएको छ । आगामी वर्ष शिक्षाक्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन ३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको हो । लामखुट्टेमुक्त महानगर अभियानका ३५ लाख रुपैयाँ विनियोजन भएको छ ।

पोखरा महानगरले ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको छ । १३औं नगरसभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट प्रस्तुत गरिन् ।  पोखराले पूर्वाधारतर्फ २ अर्ब, पर्यटन शहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ १० करोड, र सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख र वडा कार्यालयतर्फ ७२ करोड ६० लाख विनियोजन गरेको छ । त्यसैगरी, शहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ । रासस


ताजा खबर