जलहरीको नापतौल र गुणस्तर परीक्षण अख्तियारले गर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि आइतबार निकालिएको छ ।

जलहरीको विषयमा महालेखा परीक्षककको कार्यालयले प्रश्न उठाएको पृष्ठभूमिमा आयोगको टोलीले जोख्नका लागि जलहरी निकालेको हो । जलहरी राख्न १ सय ३ किलो सुन खरिद गरिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयको ६०औं प्रतिवेदनमा उल्लेख गरिएको थियो । यसले गर्दा आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको थियो ।

मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको थियो । करिब एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्राटुक्रा पारेर मात्रै निकालिएको थियो । सो जलहरी त्यहीँ जोखिने आयोगले जनाएको छ । नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई राखिएको छ ।

चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने विवादास्पद निर्णय गरेको थियो । तर, जलहरी राख्ने सुन खरिद गर्दा अनियमितता भएको उजुरी परे पनि आयोगले सो विषयमा अनुसन्धान अघि बढाएको थिएन ।

तर, गत महिना प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको भनेर चाँदीको जलहरी राखेको भन्दै एमाले अध्यक्ष ओलीलाई आरोपित गरेपछि यो विषय पुनः चर्चामा आएको थियो । दाहालको भनाइ तथ्यहीन भएको भन्दै संसद्को रेकर्डबाट मेटाइए पनि आयोगले सो विषयमा अनुसन्धान अघि बढाएको हो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन ८० करोड १ सय ११ हजारमा किनेको थियो । रासस


ताजा खबर