काठमाडौँ महानगरको सबै सेवा अनलाइन मार्फत हुने

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजन गरेको आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराउनुभयो ।

‘‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । त्यसैगरी, ‘‘महानगरले देख्छ’ योजनालाई गौरवको आयोजनाका रुपमा विकास गरी त्यसका लागि रु २० करोड विनियोजन गरिएको छ । कामपाले आफ्नै टेलिभिजन सञ्चालन ल्याउने भएको छ । उक्त विषयलाई आगामी आवको बजेटमा नै समावेश गरिएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले रु पाँच करोड विनियोजन गरिएको छ ।

त्यसैगरी, कामपाले एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । रु २५ अर्ब ५४ करोडको कूल बजेट ल्याएको कामपाले विगतका वर्षमा जस्तै यस वर्ष पनि भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षामा रु एक अर्ब बढी
आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाको ८९ वटै सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउने भएको छ । त्यसका लागि कामपाले त्यसका लागि रु ३० करोडको सोध भर्ना कोष खडा उपप्रमुख डङ्गोलले जानकारी दिनुभयो । हाल सामुदायिक विद्यालयका शिक्षकहरूले चौमासिक रुपमा तलब पाउँदै आएका थिए । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिनेछ ।

करार कर्मचारी राख्न रु ३० करोड
त्यसैगरी, कामपाले आगामी आर्थिक वर्ष तीन सय कुचीकार, दुई सय ६९ स्वास्थ्यकर्मी, एक सय ५१ नगर प्रहरी जवान, ५१ कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिनुभयो । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले रु ३० करोड विनियोजन गरेको छ ।

‘मेरो सहर हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड विनियोजन गरिएको छ । जसअन्तर्गत उद्यान, आइल्यान्डको निर्माण मर्मत सम्भार र वृक्षारोपण कार्य अभियानका रुपमा सञ्चालन गरिनेछ । रासस


ताजा खबर