पूर्व मन्त्री सहित १६ जनालाई जेल पठाउन आदेश

नक्कली भूटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतले पूर्व मन्त्री सहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई जेल पठाउन आदेश दिएको छ।

यो मुद्दामा दुई जनालाई मात्रै धरौटीमा रिहा गर्न आदेश भएको छ। टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हो।

नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा ३० जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। जसमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना फरार छन्।

पूर्व मन्त्रीहरू सहित ३० जनाबाट २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो भराउन पनि माग गरिएको थियो। उनीहरूमाथि ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा लगाइएको हो।

यस मुद्दामा १२ दिनदेखि जिल्ला अदालतमा थुनछेकको बहस चलिरहेको थियो। पूर्व मन्त्रीहरूको बचाउमा वरिष्ठ अधिवक्तासहित दर्जनौं वकीलेले बहस गरेका थिए।

उनीहरू सबैलाई काठमाडौंको जगन्नाथदेवलस्थित कारागार पठाइने भएको छ।


ताजा खबर