म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

युइएफए च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

च्याम्पियन्स लिगको उपाधिसँगै सिटीले यो सिजन ट्रेवल उपाधि जित्न सफल भएको छ । सिटीले यो सिजन च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफए कप जित्न सफल भएको थियो ।

टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा भएको फाइनलमा सिटीलाई च्याम्पियन बनाउन दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा गोल गर्न सफल भएका थिए । ३६ औं मिनेटमा प्ले मेकर केभिन डि ब्रुएनाले चोट बोक्दै मैदानबाट बाहिरिएपछि सिटीलाई केही समस्या परेको थियो । तर, त्यो समस्यालाई पन्छाउँदै सिटीले दोस्रो हाफमा गोल गर्दै च्याम्पियन बन्न सफल भयो ।

इन्टरले छ वटा अवसर सिर्जना गरेपनि गोलरक्षक एडर्सन मोराएस बाधक बन्दा १३ वर्षपछि फाइनल जित्ने इन्टरको सपना पूरा हुन सकेन ।

सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । रोयटर्स


ताजा खबर