आँखाको नानीमा नेपाल आत्मनिर्भर छ

आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।

आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताउनुभयो । काठमाडौँमा आयोजित ‘आँखा दान तथा सामूहिक श्रद्धाञ्जली सभासम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइने गरेकोमा अहिले देश भित्रबाटै सङ्कलन हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ ।

नेपाल आँखा बैङ्कमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ ।

नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिनुभयो । रासस


ताजा खबर