मेरुदण्ड बाङ्गिने समस्या स्कोलियोसिस के हो?

~ प्रा.डा. गौरवराज ढकाल

मेरुदण्ड बाङ्गिने समस्या (स्कोलियोसिस) ले विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ। वृद्धवृद्धा र बयश्क मात्र होइन बालबालिकासमेत मेरुदण्ड यो समस्याबाट ग्रसित छन्।

1140x725

स्कोलियोसिस भनेको के हो?

सामान्य रुपमा शरीरलाई पछाडिबाट हेर्दा मानिसको मेरुदण्ड सिधा देखिन्छ।  बाङ्गिएको मेरुदण्डमा पछाडिबाट हेर्दा एकातर्फ झुकाव स्पष्ट देखिन्छ। र, यो झुकाव नै  स्कोलियोसिस हो।

मेरुदण्ड बाङ्गिएको (स्कोलियोसिस) कसरी थाहा पाउने

  • एकातर्फको काँध अर्कोतर्फको भन्दा उच्च हुनु,
  •  एकातर्फको काँधको हड्डी अर्कोतर्फको भन्दा बाटुलो हुनु,
  • दुवै हातका पाखुरा सिधा झुन्ड्याएर राख्दा, एकातर्फको पाखुरा र शरीरको   भागमा बढी दूरी वा खाली देखिनु,
  • एकातर्फको कम्मर अर्कोतर्फको भन्दा उच्च देखिनु,
  • कम्मरको हड्डीको सिधा बीचमा टाउको नहुनु, आदि।

मेरुदण्ड बाङ्गिनुका कारण

मेरुदण्ड बाङ्गिएका ८५ प्रतिशत मानिसहरुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मेरुदण्ड बाङ्गिने समस्याले बढ्दो उमेरका मानिसलाई बढी हानी पुर्‍याएको हुन्छ।

कारण थाहा नहुने मेरुदण्ड बाङ्गिने समस्या यस्तो परिवारमा देखिन्छ जहाँ आफूभन्दा अगाडिको पुस्तामा पनि यस प्रकारको समस्या थियो। यो समस्या सबै उमेर समूहका मानिसलाई देखिएको छ। सामान्यतया १२ देख १५ वर्ष उमेर समूहका बालबालिकाले आफनो शरीर साथीभाइ तथा परिवारका सदस्यलाई देखाउन चाहँदैनन्।

त्यसैले स्कोलियोसिस अनुसन्धान समूह र अमेरिकन एकेडेमी अफ अर्थोपेडिक सर्जनले मिलेर बालबालिकालाई विद्यालयमै स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको छ। जसले गर्दा यो समस्याको समाधान समयमै गर्न सकियोस्।

मेरुदण्ड बाङ्गिनुका अन्य कारणमा शिशुको जन्मजात मेरुदण्ड बाङ्गिएको हुनु, स्नायु प्रणालीको समस्या, मांसपेशी सम्बन्धी समस्या आदि पर्छन्।

मेरुदण्ड बाङ्गिने समस्या कसलाई देखिन्छ?

बाल्य अवस्थामा कारण थाहा नहुने मेरुदण्ड बाङ्गिएको समस्या केटा तथा केटी दुवैमा देखिने भए पनि जब उनीहरु वयस्क समूहमा प्रवेश गर्दै जान्छन्, केटीहरुलाई ५ देखि ८ गुणा बढी प्रभाव पार्छ र उनीहरुलाई उपचारको आवश्यकता पर्छ।

मेरुदण्ड बाङ्गिएमा के गर्ने ?

९० प्रतिशत समस्या सामान्य किसिमका हुन्छन् र उपचार चाहिँदैन। बढ्दो उमेरका वयस्कहरुमा बाङ्गिएको मेरुदण्डको परीक्षणमा एक्स-रे गर्न सकिन्छ। मेरुदण्डमा धेरै समस्या देखिएमा स्पाइन सर्जनलाई देखाएर शल्यक्रिया गर्नुपर्छ।

उपचार गर्नुपर्ने अवस्था 

  • बिरामीको उमेर,
  • हड्डीको विकासको समय,
  • झुकावको डिग्री,
  • मेरुदण्ड बाङ्गिएको भाग,
  • महिनावारी र वयस्क भए/नभएको अवस्था,
  • बिरामीको लिङ्ग,
  • मेरुदण्डको बिग्रँदो झुकावको अवस्था, आदि …

जुन महिनामा विश्वभर मेरुदण्ड बाङ्गिने समस्या (स्कोलियोसिस) बारे जनचेतना अभियान चलिरहेको छ। नेपालमा पनि ग्रेगोरियन क्यालेन्डरको ‘जुन, महिनालाई स्कोलियोसिस सचेतना महिनाको रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

प्रा.डा. ढकाल राष्ट्रिय ट्रमा सेन्टर तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत वरिष्ठ स्पाइन सर्जन  हुनुहुन्छ ।

ताजा खबर