सरकार,  यो कस्तो गणतन्त्र ?

~शोभा सिलवाल/ पाण्डेय

सरकार,

यो कस्तो गणतन्त्र ?
जनताले जनतामाथि शासन गर्दा,
देशका उद्योगहरू खण्डहरमा  परिणत भए।
निर्यात बन्द भएर आयात बढ्दा ,
व्यापार घाटा चरम सीमामा पुग्यो।
वैदेशिक ऋणका कारण
गर्भे शिशुहरू पनि आसामी हुन बाध्य भए
जनताहरू गाँस,बास र कपासका लागि
विदेशिएका छन्
युवाहरू ज्ञान आर्जन  गर्न र भविष्य सुन्दर बनाउन
विदेशतिर भासिएका छन्
सरकार,
यो कस्तो गणतन्त्र ?
उद्योगीहरू ,
उद्योग चलाउन नसकेर
साँचो बैंकलाई बुझाएर
पलायन भएका छन्
भने,
व्यापारीहरू मुख्य सहरमै
सटर बन्द गर्दै सुइँकुच्चा ठोक्दै छन्
पहिले नै गाउँघर त
सुनसान थिए नै
अहिले त झन्
सहर पनि सुनसान देखिन थालेको छ ।
देशमै केही गर्ने सङ्कल्प गरेकाहरू
आफूलाई नै जलाउन बाध्य छन्
त्यसैले सरकार ,
यो कस्तो गणतन्त्र?
प्रहरी ,सेना,
आफ्नै सहकर्मीको हत्यारालाई
लाचार बनेर सुरक्षा दिन पर्दा
किंकर्तव्यविमूढ भएर आफ्नै आँखाभित्र
आँसु लुकाउन बाध्य छन्
भने
निवर्तमान कर्मचारी र शिक्षकहरू
पेन्सन नपाएर
भोकभोकै बस्न विवश छन्
बैंकको व्यवहार
गाउँको साहुको भन्दा कम छैन
किसानहरू समयमै मल र बीउ बजारमा नहुँदा
हैरान छन्
जसोतसो गरेर उब्जाएको फसलले पनि
बिचौलियाका कारण
मूल्य नपाउँदा
मर्नु न बाँच्नुक‍ो स्थितिमा पुगेका छन्
त्यसैले , सरकार !
 यो कस्तो गणतन्त्र?
हुनत ,यो सरकारले असारे विकास नल्याएको होइन ,
भ्युटावर पनि नबनाएको होइन ,
तर पनि महँगीले ढाड सेकेका जनताहरू
गणतान्त्रिक नेपालका नेताहरूको
चित्र र चरित्र हेरेर
निःशब्द छन्
पन्ध्र पुगेर सोह्र बर्से कलकलाउँदो जोबनमै
गणतन्त्र निस्सार बन्न पुगेको छ
किनभने
गणतन्त्रमा चोरलाई चुली र
साधुलाई सुली चढाइँदै छ
तब त सरकार ,
यस पटकको गणतन्त्र दिवस
त मलाई
मनपरी तन्त्र दिवस जस्तै  लागेको छ
किनभने
काले काले मिलेर खाम भाले भनेझैं
सत्तामा टिक्नैका लागि
भ्रष्टाचारी,हत्यारा र दलालहरूलाई उन्मुक्ति दिएको छ।

ताजा खबर