गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद मिनाहा

गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको बाँकी कैद मिनाहा गरिएको छ।

सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद माफी गरेका हुन्। राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिशका आधारमा भुक्तान गर्न बाँकी कैद सजाय मिनाहा गरिएको जनाएकी छन्।

कारागारमा राम्रो चालचलन भएका र ज्येष्ठ नागरिकलाई कैद मिनाहा गरिँदै आएको छ। उनीहरूलाई पनि त्यसैअनुसार, भुक्तान गर्न बाँकी कैद माफी गरिएको जनाइएको छ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिशमा मिति २०८०/२/१५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बू समेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरी समेतका सात जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ।’


ताजा खबर