गुजरात इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा

मुम्बई इन्डियन्सलाई पराजित गर्दै साबिक विजेता गुजरात टाईटन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा शुक्रबार राति भएको खेलमा गुजरातले मुम्बईलाई ६२ रनले हरायो । गुजरातले दिएको २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७१ रनमा समेटिएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ६१ रन बनायो । तिलक बर्माले ४३ र क्यामरन ग्रीनले ३० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा गुजरातका मोहित शर्माले पाँच विकेट लिनुभयो । मोहम्मद सामी र राशिद खानले दुई दुई तथा जोशुवा लिटिलले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३३ रन बनाएको थियो । गुजरातका लागि ओपनर शुभमन गिलले सर्वाधिक एक सय २९ रन बनाउनुभयो । साई सुदर्शनले ४३, कप्तान हार्दिक पाण्डेयले अविजित २८ र ऋद्धिमान शाहले १८ रन बनाउनुभयो ।

बलिङमा मुम्बईका लागि पीयूष चावला र आकाश मधवालले एक एक विकेट लिनुभयो । लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको गुजरातले उपाधिका लागि आइतबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी


ताजा खबर