हिमालय बैङ्कद्वारा इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई सहयोग

हिमालयन बैङ्क लिमिटेडले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई काठमाडौं बाल अस्पताल निर्माण गर्नका लागि २० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रेस तथा जन सम्पर्क अधिकृत शीतल कोइरालाका अनुसार बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेपाली हाइट बुढानीलकण्ठ काठमाडौंस्थित इन्सटिच्यूटलाई बाल अस्पताल निर्माणका लागि उक्त रकम प्रदान गरेको हो ।

बैङ्कका तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष प्रो.डा. भगवान् कोइरालालाई सो रकम एक समारोहका बीच हस्तान्तरण गर्नुभएको छ । उक्त समारोहमा बैङ्कका अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

सन् २०१७ सालमा स्थापना भएको काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मूलक संस्थाका रूपमा सबैका बाल–बच्चाका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।

सो संस्थाले दमकमा पनि बाल अस्पताल सञ्चालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।


ताजा खबर