सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’मा नेपाल फम्र्ड पुलिस युनिट (एफपियु) वान जुवामा खटिई जान लागेका टोलीलाई बिहिवार बिदाइ गर्नुभएको छ ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा बदलीका लागि मिसनमा जाने सशस्त्र प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले विनाशलाई विकास र सङ्घर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीले चेन अफ कमान्ड, अनुशासन र सामूहिक भावनाका साथ राष्ट्र र सङ्गठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम, कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले टोलीलाई संयुक्त राष्ट्रसङ्घीय मिसनमा रहँदा समग्र सङ्गठन र राज्यले आर्जन गरेको छविलाई आँच आउन नदिने गरी त्यहाँका जनताले अपेक्षा गरेबमोजिम विभिन्न देशका सुरक्षाकर्मीसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले मिसन छनोट निर्देशिका बनिसकेकाले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचारीको त्याग, ऊर्जा, समर्पण र ज्येष्ठताको समेत मूल्याङ्कन हुने बताउनुभयो ।
सन् २००३ देखि सशस्त्र प्रहरी बल युएन मिसनअन्तर्गत पहिलोपटक लाइबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको थियो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो ।
सो मिसनको पहिलो कमान्डरका रूपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमान्ड सम्हाल्नुभएको थियो । सो मिसनमा हाल एक सय ८० सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । पछिल्लोपटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनका लागि एक सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्नेछ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमान्डमा १६ सिनियर अधिकृत, ३४ जुनियर अधिकृत र एक सय ३० बिल्लादार जवान गरी जम्मा एक सय ८० सशस्त्र प्रहरी कर्मचारी वैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।