कांग्रेस नेता पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएका पाण्ेडेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका पाण्डे नेपालको लोकतान्त्रिक आन्दोलनका सशक्त व्यक्तिका रुपमा परिचित हुनुहन्छ ।

पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिनुभएका पाण्डे विद्यार्थी कालदेखि नै नेपाली कांग्रेसको भातृसंस्था नेविसङ्घमा आबद्ध हुनुहुन्थ्यो । विसं २०३७ मा अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

राजनीतिक संघर्षका क्रममा विसं २०४५ मा र राजाको प्रत्यक्ष शासन २०६१ साल मा गरी झण्डै आठ महिनाभन्दा बढी समय जेल जीवन बिताउनुभएका उहाँ पटक–पटक लोकतान्त्रिक आन्दोलनमा हिरासतमा पर्नुभएको थियो । विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिनुभएका उहाँ २०३९ सालमा नेविसङ्घको अस्कल क्याम्पस एकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४९ मा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभएका पाण्डे २०५९ मा नेपाल तरुण दलको केन्द्रीय महासचिव बन्नुभयो । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहनुभएका उहाँले २०७४ सालमा राष्ट्रियसभामा सांसद रही पार्टीका तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारी बहन गर्नुभएको थियो ।

गोरखा क्षेत्र नं २ मा सङ्घीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा आउने भएपछि क्षेत्र नं २ को प्रदेशसभा २ बाट चुनाव लड्दै निर्वाचित बन्नुभएको थियो ।

मुख्यमन्त्रीमा निर्वाचित भएसँगै उहाँले प्रदेशको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।


ताजा खबर