चन्द्रागिरि केबलकारमा फसे यात्रु : चार घण्टापछि उद्धार

चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ।

सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रबार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए। केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा तानेर चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो।

सम्भावित दुर्घटना रोकी यात्रुलाई सकुशल उद्धार गर्न प्राविधिक, प्रहरी तथा चिकित्सक टोली खटाइएको थियो। यात्रुको उद्धारपछि चन्द्रागिरि केबलकार कम्पनीले शुक्रबार राति आफ्नै सवारीसाधनमा चढाएर घरघरमा पु-याइदिएको थियो।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उद्धारका लागि केबलकारको दुवैतर्फका स्टेसनमा सुरक्षाकर्मी खटाइएको बताउनुभयो। डिब्बामा फसेका यात्रुलाई सम्पूर्ण सुरक्षाको व्यवस्था गरी सकुशल उद्धार गरिएको चन्द्रागिरि केबलकारका महाप्रबन्धक सञ्जीव थापाले जानकारी दिनुभयो।

हावाहुरीका कारण केबलकारमा समस्या सिर्जना हुँदा समस्या आएको उहाँले बताउनुभयो तर केबलकार एक्कासि किन बन्द भयो भन्नेबारे निर्माता डोपलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकले अध्ययन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

शुक्रबार साँझ आएको हावाहुरीको गति प्रतिसेकेन्ड ९० मिटर आसपास रहेको र जोडतोडको हावाहुरीसहितको पानीले केबलकारको विद्युत् प्रणालीमा पारेको असरका कारण केबलकार अचानक बन्द भएको पूर्वानुमान कम्पनीले गरेको छ।

केबलकारको समस्या पहिचान गरी पुनः सञ्चालन गर्न निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली शुक्रबार रातिदेखि नै खटिएको कम्पनीले जनाएको छ। शनिबारसम्म पनि समस्या पहिचान भएको छैन र सञ्चालनमा पनि आएको छैन।

चन्द्रागिरि केबलकारमा देखिएको यो समस्या र यात्रु फसेको घटना यो पहिलो भने होइन। २०७९ असार २२ गते केबलकार बन्द हुँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारका डिब्बाभित्रै फसेका थिए। त्यस बेला अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेसनसम्म पु-याउने प्रयास गरिए पनि आन्तरिक विद्युत् प्रणालीले काम नगरेपछि लट्ठा तानेर उद्धार गरिएको थियो।

त्यसअघि २०७८ चैत १६ गते पनि केबलकार अचानक बन्द हुँदा ३७ जना यात्रु फसेका थिए। २०७५ असारमा पनि केबलकार अचानक बन्द हुँदा विशिष्ट व्यक्तिसहित बालबालिका तथा विदेशी नागरिकसमेत केबलकारमा अलपत्र परेका थिए। त्यस बेला पनि मेसिनले काम नगरेपछि मानिसले हातले ड्राइभ चलाएर फसेका यात्रुको उद्धार गरिएको थियो। यस घटनमा चन्द्रागिरि हिल्सका तत्कालीन महाप्रबन्धक विख्यात आरले यात्रुमा पर्न गएको असुविधाप्रति माफी माग्नुभएको थियो।

त्यस घटनमा पनि कम्पनीले विद्युतीय आपूर्तिमा समस्या देखाउँदै सुधारका लागि प्रयास गर्ने बताएको थियो तर अहिलेसम्म पनि उस्तै समस्या आइरहेको छ। केबलकार कम्पनीले शुक्रबार पनि हावाहुरी, वर्षा र विद्युत् आपूर्तिमा समस्या आउँदा केबलकार बन्द भएको दाबी गरेको छ।

शुक्रबार बन्द भएको चन्द्रागिरि केबलकार शनिबार बेलुकासम्म पनि सञ्चालनमा आएको छैन। केबलकार बन्द रहेको सूचना समयमै नदिँदा सयौँ यात्रु शनिबार बिहानैदेखि केबलकार चढ्ने पर्खाइमा थानकोट स्टेसन पुगेका थिए। चन्द्रागिरि केबलकार निर्माण गर्ने कम्पनी डोपलमेयर अस्ट्रियाको कम्पनीले रुपन्देहीको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्मको झन्डै तीन किलोमिटर लामो केबलकार निर्माण गरिहेको छ। त्यहाँ खटिएका कम्पनीका इन्जिनियर तथा प्राविधिकलाई झिकाएर मर्मत गरिरहेको भए पनि समस्या समाधान हुन सकेको छैन।  – रासस


ताजा खबर