नेकपाको स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै

नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्।

२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

विक्रम संवत् २००६ मा भारतको कोलकातामा रहनुभएका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिनुभएको थियो। त्यसअघि २००५ चैत २३ गते उहाँले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गर्नुभएको थियो।

नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल-नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बन्नुभयाे भने तेस्रो महासचिव तुलसीलाल अमात्य बन्नुभयाे । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पन्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पन्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो ।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ।

कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो। त्यसपछि टुट्ने र फुट्नेक्रम अहिलेसम्म रोकिएको छैन। कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा गरिएका पनि छन्। मिल्ने अनि केही समयपछि फुट्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै धराशयी पारेको छ।

निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन्। आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो।

नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूवात भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइदैछ । रासस


ताजा खबर