‘आमा नै राम्री’

~शोभा सिलवाल पाण्डे

आत्मैबाट माया गर्ने आमा नै हुन् हाम्री,

संसारमा सबैभन्दा, आमा नै छिन् राम्री ।।

 

न भोकमा खाना खायौ, न त सुत्यौ रातमा,

सबैभन्दा सुरक्षित, हामी तिम्रै काखमा ।।

 

भोक, तिर्खा दुःख आफैं, खपिराख्ने आमा,

आफू रित्तो भएर नि, खुसी हुने आमा ।।

 

दया, माया, करुणाकी, खानी आमा जाती,

यिनको स्थान सधैँ हुने, ईश्वरभन्दा माथि ।।

 

अहोरात्र खट्छिन् आमा, सन्तानका लागि,

सन्तानको झोली भर्छिन्, सबैसँग मागी ।।

 

आमा नै हुन् सन्तानको, अमूल्य त्यो हार ,

दुःखकष्ट पर्दा पनि, लगाइदिन्छिन् पार ।।

 

सृष्टिकी खानी आमा, ममताकी पनि,

हामी सबको हृदयमा, बस्छ्यौ देवी बनी ।।

 

नौ महिना पेटमा राखी, दूध चुसायौ तिम्ले,

जन्म लिई यस धर्तीमा, नाम राख्छौँ हाम्ले ।।

 

फोहोरमा सुति आफू, छातीमाथि राखी,

शीतज्वर क्यै नभनी, राख्छिन् च्यापी काखी ।।

 

संसारमा अपार छ आमा तिम्रो गाथा,

श्रद्धासाथ चरणमा, राख्छौँ हामी माथ ।।

 


ताजा खबर