छोराछोरी कसरी बराबरी ?

~ शोभा पाण्डेय/सिलवाल 
सरकार!
छोरा जन्मनासाथ
वंशलाई अगाडि बढाउने
थर कहिल्यै फेर्न नपर्ने
पुर्खाको सम्पत्तिको हकवाला
बुबाआमाको साथ कहिल्यै  छाड्न नपर्ने
त्यतिमात्र होइन ,
मरेपछि काँधमा चढाएर दागबत्ती दिने
जन्मजात लाइसेन्स प्राप्त
छोरा
बाँचुन्जेल जे गरे पनि
वर्षैपिच्छे श्राद्ध गरी पिण्ड लडाउने
छोरा हो ,
राति जहाँ गए पनि हुने
जात र भात नजाने
जस्तो भए पनि छोरा
देश,समाज र परिवारको मियो हुने
बीउ भएपछि बारी
जस्तोसुकै होस् बाल नहुने
सन्तान हुर्काउन
सिन्को नभाँचे पनि
सन्तानको
नागरिकतामा उसैको नाम पहिला लेखिने
किनभने ऊ छोरा हो।
पुरुषप्रधान समाजको भगवान् हो,
भगवान् !
तर अफसोच  छोरी ,
अर्काको घर सजाउने वस्तु
जतिसुकै विद्वान्  किन नहोस्
नचाहँदा नचाहँदै पनि
अर्काको घर जानै पर्ने
आफ्नो थर फेर्नै पर्ने
आफ्नो भन्ने कुनै कुरै नभएकी
फगत अकिञ्चन
जीवनभर अर्काकै दासी बन्नुपर्ने
सबैका अगाडि शिर निहुराएर
हस् हजुरी गर्नैपर्ने
आफ्नै बुबाआमाको काखबाट
टाढा गएर जिउँदो लास बनी
बाँचेर कर्मयोगी बनी दिनुपर्ने
यतिमात्र होइन ,
घरबाहिर निस्कँदा पनि
संरक्षक लिएर निस्कनुपर्ने
कसैसँग
हाँसेर बोल्दा लाञ्छित हुनुपर्ने
आफ्नै शरीरमाथि आफ्नै अधिकार छैन
दस महिना पेटमा राखेर जन्माएको बच्चालाई
परिचय दिन मावलीको थर भजाउन पर्ने
सम्पत्तिमाथिको अधिकार त
एकादेशको कथा
त्यसैले सरकार नेपालमा
छोराछोरी कसरी बराबरी ?
रेडियो र टेलिभजनको यो विज्ञापन
सुन्दा टीठ लाग्छ
हाम्रो सरकार अन्धो,बहिरो र लाटो छ
भर्खरै मात्र महिला मैत्री सरकारले
एकल आमाका सन्तानलाई
परिचय दिने नियम बनाएछ
केबल ,आमाको थरबाट होइन
मावलीको थरबाट
धिक्कार छ,सरकारलाई
आमाको थर भन्नेआँट नगरी
मावलीको थर भन्दा
तिम्रो आफ्नै विज्ञापनले
तिमीलाई गिज्याउँदैन ?
अनि सरकार!
छोराछोरी कसरी बराबरी?

ताजा खबर