रहेन हाम्रो पहिलो ठेगाना ‘आमाको पाठेघर’

दशकदेखि हाम्रा चाडपर्व र सबैखाले खुशी खोसिरहेको आमाको रोग निकालियो। तर‚ त्यही दिनदेखि हामी चार जना क्रमैसँग बसेको हाम्रो पहिलो ठेगाना रहेन। अर्थात्, आमासँग अब पाठेघर रहेन।

धन्न काम गर्ने ठाउँको मूली सजिला रहेछन् नत्र मैले त्यही वेला जागीरबाट हात धुनुपर्थ्यो। किनकि‚ कुनै हप्ता त म आधा दिन मात्र काममा हाजिर हुन्थें। तैपनि हाकिम सहज मान्थे। आमाको तल्लो पेट दुख्ने समस्या भएकाले म आमासँगै अस्पताल गइरहनुपर्थ्यो।

तल्लो पेट दुख्ने समस्याले आमालाई हैरान पार्न थालेको वर्षौं भइसकेको थियो। म जान्ने भएदेखि नै आमाको त्यो समस्या हो। अर्थात् करीब २० वर्षदेखि आमालाई तल्लो पेट दुख्ने समस्याले पिरोलिरहेको थियो।

म बिहान ६ बजे ओछ्यानबाट निस्कँदा आमा र उहाँका केही साथी चियाबगानबाट एक-एक भारी घाँस लिएर आइसक्नुभएको हुन्थ्यो। काठका फल्याक राखेर बनाएको चर्पी थियो। जुटको बोराको ढोका भएकाले चर्पी जाँदा भित्र कोही छ कि भनेर जान्न परैबाट जबर्जस्ती खोक्नुपर्थ्यो। भित्र कोही भए जवाफमा उसैगरी खोकी फर्काउनुपर्थ्यो। बाहिरकाले जोडले दोस्रो पटक खोक्नु उसलाई हतार परेको जनाउ दिएको मान्नुपर्ने।

आमा बिहान एक भारी घाँस सिकुवामा बिसाएर चर्पी जानुभएको थियो। करीब १५ मिनेटपछि मात्र निस्कनुभयो। रगतका टाटा बसेका कपडा हामीबाट लुकाउन खोज्दै चापाकलमा पुगेर हतार हतार धुनुभयो। रगतका फाल्सा मिसिएको साबुनपानी बगेर चर्पीको फोहोर हुँदै खोल्सोमा पुग्यो। कहिलेकाहीं त त्यस्तो रगत सुकेर अबेर दिउँसोसम्म खोल्सीमा झिंगा भन्किएका हुन्थे।

दुई साताअघि मात्र आमालाई लिएर झापाको दमकबाट लोकल बसमा मोरङको विराटनगर गएको थिएँ। डाक्टर थापाले आमाको जाँच गरेपछि मलाई छेवैको सानो टुलमा बस्न इशारा गर्दै बेलिविस्तार लगाइन्, “तिम्री आमाको पाठेघरमा धेरै संक्रमण भइसकेको छ। कतै कतै एैंजेरू पनि पलाउन थालिसकेको छ। वर्षौं पुरानो समस्या रहेछ। चाँडै २० हजार रुपैयाँ ठीक पारेर आउनू, म अपरेशन गरेर फ्याँकिदिन्छु। अपरेशन गर्न जति ढिला गरियो समस्या अरू बढी कडा बन्छ। क्यान्सर समेत हुन सक्छ। पैसाको जोहो जति छिटो हुन सक्यो उति नै राम्रो।”

टेपमा रेकर्ड गरिएको आवाज झैं डाक्टरले एकोहोरो बोलेको सुनिरहेको किशोरावस्थाको मेरो मनमा शङ्का, संशय, पीडा, नि:सहायपन यस्तै गह्रौं र हृदय हल्लाउने अनेक भावहरू आए।

डाक्टर थापाले मलाई कागज जिम्मा नलगाउँदै टेबलको पहेंलो टल्किने कपबाट अन्तिम घुट्को चिया पिइन्। भिजेको सेतो टावेलले हात र अनुहार पुछिन्। लगत्तै घण्टी बजाइन्। मतलब, अर्को बिरामी भित्र बोलाइन्। टेपमा रेकर्ड गरिएको आवाज झैं डाक्टरले एकोहोरो बोलेको सुनिरहेको किशोरावस्थाको मेरो मनमा शङ्का, संशय, पीडा, नि:सहायपन यस्तै गह्रौं र हृदय हल्लाउने अनेक भावहरू आए। डाक्टरले एकै मिनेटमा भनेका कुरा मेरा लागि सामान्य थिए। ममताको स्वर्णधारा सुक्ला भन्ने बढेमानको त्रासमाथि मेरो आर्थिक हैसियतले गिज्याउँदै मलाई घन हानिरहेको थियो। उनले उपायका रूपमा बताएका सबै कुरा मेरा लागि समस्याको पहाड बनेर उभिएको थियो। मैले धेरै सोच्नै सकिनँ। रिंगटा लाग्ला जस्तो भयो।

डाक्टरलाई दुवै हात जोडेर अस्पतालको भुइँ तलामा झर्दा घाम बास बस्न पश्चिमी क्षितिज नजिक पुगिसकेको थियो। क्लिनिक रहेको दुईतले घर पछाडिको आँपका रूखमा चराहरू बास बस्न भेला हुँदै थिए। आसपासमा बस्न मिल्ने कोही आफन्त थिएनन्। घरमा पनि १७ वर्षमुनिका तीन वटी बहिनी मात्र थिए। कान्छी त सानै थिइन्। बिहान हामी पाँचै जनाले गुन्द्रुकको झोलसँग गाँस निलेका थियौं। बहिनीहरू स्कूल र हामी आमाछोरा अस्पताल लागेका थियौं।

त्यो बिहान पनि आमाले चियाबगानबाट ल्याएको घाँसको भारी सिकुवामै थियो। हिंड्ने वेलामा ठूली बहिनीलाई स्कूल जानुअघि गाईको डुँडमा घाँस हालिदिनूसम्म भन्न भ्याएको थिएँ। बाँधेर पालेका पशुको प्राण मान्छेको भरमा न हुन्छ। दाम्लो अल्झिएला र गाई अभर पर्ला भनेर आमा सधैं चिन्ता गर्नुहुन्थ्यो। मलाई गोठका गाई र बाछा हाम्रो परिवारका सदस्य झैं लाग्थ्यो। तिनीहरू भोकतीर्खा केले कराएका हुन् आमा ठम्याइहाल्नुहुन्थ्यो। कहिलेकाहीं डुँडभरि घाँस हुँदा पनि कराउँथे‚ शायद मान्छेको नियास्रोले होला।

आमाको बिमारबारे बहिनीहरू धेरै बोल्न सक्दैनथे। आमाछोरा डाक्टरकहाँ गएर फर्किएपछि मेरो छेउमा उभिएर कुरा सुन्ने मात्र गर्थे। त्यसरी सुन्नु नै उनीहरूले प्रश्न गर्नु हो। अस्पतालबाट फर्किएपछि उनीहरूले मलाई एकटकले हेरेको कठिन लाग्थ्यो। हत्केलामा बोकेको भविष्य टुहुरो बन्ला भन्ने त्रासको बाक्लो र अँध्यारो बादल तिनका निधार नजिकै भए जस्तो लाग्थ्यो। कलिला आँखाले मेरो निन्याउरो अनुहारमा हेरिरहेकी ठूली बहिनीलाई एक पटक आमालाई धरानबाट उपचार गरेर ल्याएपछि ‘ठूलो समस्या होइन’ सम्म भनेको थिएँ।

म पनि सधैं कहाँ सम्हालिन सक्थें र! यस्ता गह्रौं उत्तर बहिनीहरूलाई प्रायः छोटै वाक्यमा दिन्थें। भारी मन कतै लगेर बिसाऊँ जस्तो लाग्थ्यो, तर कुनै ठेगाना भेट्दिनथें। त्यसैले त एकान्त बस्थें। दिउँसो भए कोठाभित्र पसेर चुकुल लगाएर कुनै बासी पत्रिकामा आँखा डुलाउँथें। साँझ भए घर उत्तरको सानो चोकबाट देब्रेतिर मोडिन्थें। एकैछिन हिंडेपछि पुगिन्थ्यो हिमालय चियाबगान।

जाँडरक्सी र चुरोट-बिंडीको अम्मली नभए पनि मनमा अनेक तर्कनाले बास गरेका वेला भने कहिलेकाहीं चुरोटका केही सर्को तान्ने गर्छु। चियाबगानछेउ राजमार्गको कल्भर्ट‚ त्यहाँ पुगेर धेरै साँझ चुरोटको सर्को तानेको छु। नजिकै नपुगी मान्छे ठम्याउन नसकिने भएपछि चुरोटको सर्को तान्थें। मैले महसूस गरेको छु- निकोटिनको मन्द सर्कोले मन हलुका हुँदैन, तर बोझ बोक्ने ताकत थोरै भए पनि थपिंदो रहेछ।

आमाको बिमारबारे बहिनीहरू धेरै बोल्न सक्दैनथे। आमाछोरा डाक्टरकहाँ गएर फर्किएपछि मेरो छेउमा उभिएर कुरा सुन्ने मात्र गर्थे।

झ्याउँकिरीको आवाज अलि बाक्लो सुनिन थालेपछि घर पुगेको मलाई आमाले भन्नुहुन्थ्यो- कहाँ गएको थिइस्? अँध्यारोसँग डराउनुपर्छ, किन ढिला गरेको? आमाका यी वाक्य प्रश्न र निर्देशन मात्र नभई मेरा लागि जिम्मेवरी सम्झाउने कोर्रा पनि थिए।

साँझको वेला मोटर पाउनै गाह्रो। पाइहाले पनि उत्पात घुइँचो। दुई जनाका सीटमा प्रायः तीन हुन्थे। आमालाई मात्र भए पनि बस्ने ठाउँ मिले त हुन्थ्यो भन्ने लाग्थ्यो। फलामे डन्डी समातेर मुश्किलले बसमा उभिएका आमाछोरा इटहरी पुग्दा रात पर्न थालिसकेको थियो। यो वेला साँझ परेपछि लामो दूरीका बस पाउन मुश्किल थियो। बसमा समेत बम पड्काएर मान्छे मारिएका खबरहरू हरेक दिनजसो आइरहन्थे। इटहरीदेखि दमकसम्मको राजमार्ग पर्ने जङ्गलमा बस लुटिने र कहिलेकाहीं त जलाउने गरिएको सुनिन्थ्यो। इटहरीको बिसौनीमा उत्रिएका आमाछोरासँग त्यो एउटा रात कतै ओत लाग्ने सुरक्षित ठेगानाभन्दा पनि हाम्रो बाटो पर्खिएर घरमा बसेका तीन बहिनीले के खाए भन्ने पीर बढी थियो। हामी नहुँदा उनीहरू दिउँसै पनि डराउँथे। समय पनि पनि डराउनुपर्ने खालकै थियो।

त्यो रात इटहरीमै एक चिनारुका आफन्तको घर पहिल्याउँदै ढोका ढकढक्याउन पुग्यौं। सामान्य भलाकुसारीपछि नाता नपर्ने ती दयालुको घरमा आमा आफैं भान्से लाग्नुभयो। मैले स्टोभमा दम दिएँ। तातो दालभातपछि आमाले औषधि खानुभयो। त्यो रात निद्राले आँखासम्म आउने आँटै गरेन। तर पनि, हामी ओछ्यानमा पल्टिरह्यौं।

बिहान आँखा मिच्दै बस समात्न पुग्यौं। घर फर्किंदा कानेपोखरी बजार नजिक जुटले भरिएको एउटा ट्रक बलिरहेको देख्यौं। रातो झण्डामा दुई वटा ढुङ्गाले च्यापेर ‘हाम्रो क्रान्ति जारी छ’ लेखिएको तुल परैबाट देखिन्थ्यो। रोइरहेका ट्रक चालकले मुखमा रातो नकाब लगाएका चार जनालाई लाख बिन्ती गर्दा पनि नमानेर ट्रकमा चारतिरबाट आगो झोसेर बल्न थालेपछि जङ्गल पसेको त्यहाँका रहेका मानिसहरूले बताएका थिए। हामीलाई ओह्रालेर बस इटहरी नै फर्कियो। दनदनी बलिरहेको ट्रकको तातोबाट जोगिंदै हामी पूर्वतर्फ लाग्यौं। केही किलोमिटर हिंडेपछि एक जना चिनजानका व्यक्ति मोटरसाइकलमा बिस्तारै गुडिरहेको देखें। सादा पानीकागजमा रहेका अस्पतालका रिपोर्ट मेरो हातमा देखेका उनले धेरै नसोधी हामीलाई घरसम्म लगिदिए। घर पुगेपछि उसैगरी बहिनीहरू भेला भए। तिनका निद उडेका आँखा र कलेटी परेका ओठ देखेपछि मलाई ऐंठन होला जस्तो भयो। म बोल्न तयार छैन भन्ने बुझेपछि उनीहरू चूप लाग्थे‚ आज पनि चूप नै लागे। आमा घर नपसी सोझै चर्पी जानुभयो। चर्पीबाट फर्किएपछि रगतका फाल्सा जमेको कपडा धुनुभयो।

बसमा समेत बम पड्काएर मान्छे मारिएका खबरहरू हरेक दिनजसो आइरहन्थे। इटहरीदेखि दमकसम्मको राजमार्ग पर्ने जङ्गलमा बस लुटिने र कहिलेकाहीं त जलाउने गरिएको सुनिन्थ्यो।

अर्को साता फेरि अस्पताल लैजानुपर्‍यो। अपरेशन नगरी औषधिबाट निको हुन्छ भनेर एक आयुर्वेदिक औषधि पसले हामीलाई दुहुनो गाई बनाएका थिए। मलाई त भर लाग्दैनथ्‍यो, तर आमा शरीरमा हतियार लगाउनुभन्दा औषधिले नै ठीक भए राम्रो भन्नुहुने। खर्चको जोहो गर्ने ल्याकत नभएको र माग्दा दिइहाल्लान् भन्ने पनि नजरमा कोही नदेखिएका दिन थिए। त्यो दिन सम्झिँदा अहिले पनि आफूलाई बिचरा ठान्छु। गृहस्थ कहाँ सजिलो हुन्छ र! देख्दा मात्र सजिलो लागेको हो। बाहिरबाट देख्दा दुई छाक खान ठूलो समस्या नदेखिए पनि हरेक निम्न मध्यम वर्गका घरहरू बडा मुश्किलले घस्रिरहेका हुन्छन्।

डाक्टर थापाले दिएको समयसीमा घर्किए पनि आमाको शरीरभित्र उब्जिएको रोग त फाल्नै थियो। म सस्तो उपाय खोजिरहेको थिएँ। फागुन महीना‚ त्यो वर्षको जाडोका पछिल्ला दिन चलिरहेका थिए। बिहान एकफेर चाहिं जाडो हुने। बिहानको घाम घर पूर्वको अठिया केराको बोटमाथि उक्लिएपछि मात्र हाम्रो सिकुवामा उज्यालोका किरण टेक्थ्यो। चिया बगानबाट ल्याएका चियाका झिक्रा बालेर बाँकी रहेको खरानी मात्र थियो अँगेनामा। बहिनीहरू खाएका थालहरू पखालेर स्कूल गइसकेका थिए। गाई र बाछोलाई पराल दिइसकेपछि म टाँडमाथि उक्लिएँ। आज आमाछोराले एउटा ठूलो निर्णय गर्नुपर्ने थियो। यस्ता ठूला निर्णय लिने वेला प्रायः हामी आमाछोरा मात्र जुट्छौं। सानाहरूलाई पीर पर्ने खालका खासगरी आमाको बिरामका कुरा उत्ति सुनाउन मलाई मन लाग्दैन। साताअघि भेटेर सबै रिपोर्ट देखाएपछि डाक्टर शंकरले पाठेघरको अपरेशन गर्न उनी सक्षम रहेको बताएका थिए। घर पछाडिको बरन्डामा आमाको दाहिने टुलमा बसेको थिएँ। धेरै बेर त दुवै बोलेनौं। नबोले पनि दुवैका मनमा एउटै कुरो त थियो।

एक बिहान। आमाको मुखबाट निस्कियो, “हिंड् अब जाऔं।” आँगनमा निस्किएर आमाले खिया पर्दै गएको जस्ताले छोपिएको ओत लाग्ने घरको छानो हेर्नुभयो। एउटा सिरानी, तातोपानीको तुम्लेट, वर्षौंदेखि एकपछि अर्को डाक्टरले दिएका रिपोर्ट र आमाका फेरफारे कपडा मैले रिक्सामा राखिसकेको थिएँ। आँगनसम्म पुग्नुभएकी आमा केही महत्त्वपूर्ण कुरा बिर्सिए जस्तै हतारिंदै घरको पछाडि लाग्नुभयो। गोठमा बाँधिएका गाई र बाछोलाई हेर्नुभयो। आफन्त आए झैं तिनीहरू आँखा उज्याला पार्दै कराए। आमाले एकमुठो घाँस दुवैले भेट्ने गरी हालिदिनुभयो। तिनका सिङ र टाउको पालौपालो सुमसुम्याउनुभयो। खुरसम्म हात पुर्‍याउनुभयो।

बाहिरबाट देख्दा दुई छाक खान ठूलो समस्या नदेखिए पनि हरेक निम्न मध्यम वर्गका घरहरू बडा मुश्किलले घस्रिरहेका हुन्छन्। 

गोठबाट फर्किएर तुलसीको मोठमा एक बाल्टी पानी हाल्नुभयो। केराको बोटमाथि उक्लिसकेको घाम र तुलसीको मठलाई शिर झुकाएर नमस्ते गर्नुभयो। सिंढीका अखेंटोमा नबोली बसेका बहिनीहरूले ती सबै नियालिरहेका थिए।

लामो गफगाफ नगरी हामी चार सन्तान बसेको आमाको पाठेघर झिक्न डाक्टर शंकर तयार भए। दुई घण्टासम्म अस्पतालको शल्यक्रिया कक्षको बाहिरपट्टिको रातो बत्ती बलिरह्यो। समय जति लम्बिंदै गयो, मेरो मुटु उति नै छिटो चलिरह्यो। स्कूल गएका बहिनीहरू कति वेला अस्पतालको आँगनमा आइसकेछन्, मैले थाहै पाइनँ। टोल्हाइरहेको म झस्किंदा उनीहरू मेरा वरिपरि उभिएका थिए। बोलेर बुझाइरहनुपर्ने कुरै थिएन। परिवेशले दिएको उत्तरभन्दा ज्यादा प्रश्न उनीहरूसँग मलाई सोध्न बाँकी पनि थिएन शायद। बोलेनन्‚ हेरी मात्र रहे। पश्चिमतिर ढल्किएको घामको किरण झ्यालबाट छिरेर ठोक्किंदा आमाको ओठ र बाटिएका परेला हल्का चलिरहेका थिए। चाउरी पर्न थालेको दाहिने हातको नाडीमा घुसिरहेको सुईबाट झरिरहेको स्लाइन पानीको बोतल रित्तिन लागेको थियो। नर्सले फेरिदिइन्। डाक्टर शंकरले आमा तङ्ग्रिन कम्तीमा तीन महीना लाग्ने बताए। स्टेचरमा लमतन्न सुतेकी महिलालाई ठेल्दै अघि लागेका स्वास्थ्यकर्मीलाई उछिन्दै म शल्यक्रिया कक्षमा पसें।

शरीरमा हतियार लगाएर झिकिएको आमाको पाठेघर थियो। दशकदेखि हाम्रा चाडपर्वको रमाइलो, रौनक‚ उमङ्ग र सबैखाले खुशी खोसिरहेको आमाको रोग त्यो दिन निकालियो। तर‚ त्यही दिनदेखि हामी चारजना क्रमैसँग बसेको हाम्रो पहिलो ठेगाना अब रहेन। अर्थात्, हाम्री आमासँग अब पाठेघर रहेन। जुटे-पुगेसम्मको भोजन र औषधिले करीब तीन महीनापछि आमालाई उठायो।

आज पनि जब फागुनको हल्का चिसो मिसिएको हावा बहन्छ तब खियाले गाँज्दै लगेको जस्ताको छानो, गोठमा बाँधिएका माउ-बाछा, अस्पतालको शल्यक्रिया कक्षको मूलढोकामाथि बलिरहेको रातो बत्ती, सिंढीको आडैमा रहेको चापाकलको पानी निकास हुने खोल्सोमा साबुनसँग मिसिएर बग्ने रगतका फाल्सा र भर्खरै रगत पखालिएर सुकिरहेका कपडाका टाला सम्झाउँछ र मुटु चिसो बनाउँछ।

हाल- टेक्सास, अमेरिका निवासी गोपाल गडतौलाको यो आालेख हिमाल खबरवाट साभार गरिएको हो ।

ताजा खबर