सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

सत्ता गठबन्धनका दलहरूले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरूले आज एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्तिलाई व्यापक रूपमा परिचालन गर्न आह्वान गर्नुभएको हो ।

यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था-सङ्गठनका सदस्य तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरिएको छ ।

गठबन्धन दलका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको छ ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गर्नुभएको छ । रासस


ताजा खबर