गुगलको ‘लाम्डा’ एआई टुल ‘एपरेन्टिस बार्ड’ परिक्षणमा

प्रविधिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एप ‘च्याट जीपीटी’ को चर्चा चुलिइरहेका बेला गुगलले पनि त्यस्तै टुल ल्याउने भएको छ । आगामी दिनमा गुगलका सबै उत्पादनमा च्याट जीपीटीकै शैलीमा उत्तर दिने च्याट बट तयार गरेको र त्यसबारे परीक्षण भइरहेको रोयटर्स‍ले जनाएको छ ।

गुगलले पछिल्लो समय परीक्षण गरिरहेको एआई टुल ‘एपरेन्टिस बार्ड’ हो । यसले पनि प्रयोगकर्ताले सोधेका प्रश्नको उत्तर च्याट जीपीटीकै शैलीमा दिने दाबी गरिएको छ ।

‘लाम्डा’ प्रविधिमा तयार हुन लागेको ‘एपरेन्टिस बार्ड’ पनि च्याट जीपीटीको जस्तै एआईमा आधारित छ । तर प्रयोगकर्ताका लागि भने च्याट जीपीटीभन्दा यो थप प्रभावकारी हुने बताइएको छ । किनकि, यसले हालसालै भएका घटना तथा त्यससम्बन्धी विवरणसमेत उपलब्ध गराउने गुगलको दाबी छ । र, प्रयोगकर्ताको सहजताका लागि गुगलले आफ्नो होमपेजको स्वरूप परिवर्तन गरी ‘एपरेन्टिस बार्ड’ पनि समावेश गर्ने जनाएको छ ।

पछिल्लो समय च्याट जीपीटीका प्रयोगकर्ता बढेसँगै यसले गुगललगायतका सर्च इन्जिनलाई नै विस्थापित गर्न सक्ने आकलन गर्न थालिएको थियो । जसका कारण गुगलले आफ्नै एआई टुल ल्याउन जुटेको जनाइएको छ । तर यसको प्रभावकारिता च्याट जीपीटीको तुलनामा कस्तो हुन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ । रोयटर्स


ताजा खबर