स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी

स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।

आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ । तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन् ।

आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सर्भर डाउन हुँदा देशभरिका लाखौं बिरामीले सास्ती भोग्नुप¥यो । यस विषयमा स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली भन्नुहुन्छ– ‘बेलाबेलामा यस्तो समस्या आइरहन्छ तर यति लामो समय समस्या आएको यो पहिलोपटक हो । नेपालको स्वास्थ्य बिमाको सर्भर तयार पार्ने कन्सल्ट्यान्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ ।’ अझै पनि एपीआई लिंकमा समस्या भएकाले फाइल पठाउन मिले पनि सहज भइनसकेको उहाँले बताउनुभयो ।

शनिबार बिदा भएकाले आइतबार काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुरस्थित कोरियन अस्पताललगायतका देशैभरिका आम नागरिकको पहुँच हुने अस्पतालहरूमा बिहान ७ बजेदेखि नै टिकट लिनेको भीड थियो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजु भन्नुहुन्छ– ‘सर्भर नै डाउन भएपछि हामीले केही गर्नै सक्दैनौं । सर्भर बिहान ४ बजेदेखि नचलेको भए पनि बिमा बोर्डको प्राविधिक शाखा १० बजेपछि खुला हुने हुँदा थप समस्या आयो । कति आकस्मिक रूपमा र नियमित परीक्षणका लागि आएका बिरामीलाई पैसा तिरेर टिकट लिनुस् भन्न रजिस्ट्रेसन शाखामा कार्यरत कर्मचारी बाध्य भए । उनीहरूले बिरामीको प्रश्नको उत्तर दिन सक्ने अवस्था नै थिएन । कति बिरामीले बिमा छ भनेर साथमा पैसा नलिई टाढादेखि अस्पताल आएका छन् । उहाँहरूलाई घण्टौं लाइन बसाएर टिकट दिन नसक्दै दुःख लागेको छ ।’

त्यसै गरी ट्रमा सेन्टरका सूचना अधिकारी रमेश चापागाईंले पनि सर्भर डाउन हुँदा बिरामीलाई मर्का परेको बताउनुभयो । यता बिमा बोर्डका प्रवक्ता ज्ञवालीले एउटै मात्र सर्भर भएका कारण यो समस्या आएको विषयमा नेपाल सरकार जानकार छ । विगत वर्षदेखि नै अर्को सर्भर हेटौंडामा राख्ने योजना पेस गरिसकिएको छ भन्नुहुन्छ । यसरी सर्भरको सेवा वितरण ठूला र साना अस्पतालले चलाउने फरक हुन्छ । धेरै ठूला अस्पतालमा सेन्ट्रल सर्भर डाउन हुँदा हजारौं बिरामीलाई सास्ती हुन्छ र व्यवस्थापन पक्षलाई पनि उत्तिकै गाह्रो हुन्छ । तर, हामीले गर्न सक्ने खासै केही छैन ।

स्थ्स्वास्थ्य बिमा बोर्ड नेपाल सरकारको एक सामाजिक सुरक्षा कार्यक्रम हो । यसले नागरिकहरूलाई आर्थिक बोझ नराखी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच गर्न सक्षम बनाउने लक्ष्यका साथ अघि सारेको कार्यक्रम हो । यस कार्यक्रममा घरपरिवार, समुदाय र सरकार प्रत्यक्ष रूपमा संलग्न छन् । स्वास्थ्य बिमा कार्यक्रमले आपसी सहयोगको साथ पूर्वभुक्तानी र जोखिम संकलन संयोजन गरेर स्वास्थ्य सेवा लागतहरू जस्तै दुर्घटना वा रोगको कारण विनाशकारी खर्चका कारण मानिसहरूलाई गरिबीमा पर्नबाट रोक्न मद्दत गर्छ भन्ने सरकारको धारणा रहेको प्रवक्ता ज्ञवाली बताउनुहुन्छ ।


ताजा खबर