उपराष्ट्रपति निर्वाचन : चार जनाको उम्मेदवारी दर्ता

सत्ता गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का सांसद रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नयाँ बानेश्वरको ल्होत्से हलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जसपाका सांसद यादवले जसपाको निर्णयअनुसार मनोनयन दर्ता गराउनुभएको हो ।

सांसद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहनुभएको छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहनुभएको छ ।

सांसद यादवको उम्मेदवारी दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनुभएको छ ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीकै सांसद प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रियसभा सदस्य यादवले दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशीला श्रेष्ठ हुनुहुन्छ ।

यसैगरी, सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावक अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी अविराम शर्मा, रूपा कुमारी यादव र समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहनुभएको छ ।

झाको उम्मेदवारी दर्ताका क्रममा जनमत पार्टीकाका नेताहरू दर्ता स्थलमा पुगे पनि शीर्ष दलका नेताहरू भने जानुभएको थिएन ।

सत्ता गठबन्धन १० दलको आज बिहान बालुवाटारमा बसेको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाका दुई जना र जनमत पार्टीबाट ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एक मात्र साझा उम्मेदवार अघि बढाउन नसकेको सत्ता गठबन्धन दलले भोलि पुनः बैठक बसेर साझा उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

यस्तै, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शाक्यको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा गोकर्ण बिष्ट र रघुवीर महासेठ रहनुभएको छ भने समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहनुभएको छ ।

नेकपा एमालेको आजै बसेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगका अनुसार आज उम्मेदवारीको मनोनयन गर्ने र आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।


ताजा खबर