पीएनजीलाई ५२ रनले हराउँदै नेपाल विजयी

पपुवा न्युगिनीलाई हराउँदै नेपाल ५२ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको बिहीबारको खेलामा नेपालले पीएनजीलाई हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पीएनजीलाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोड्न सक्यो ।

दोस्रो इनिङमा ब्याटिङ गरेको पीएनजीका लागि नर्मन भानुवाले ५५ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले । भानुवाले ३ चौका र ४ छक्का बनाए ।

ओपनर टोनी उराले ४४ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले । ९ चौका प्रहार गरेका उरा सन्दीप लामिछानेको बलमा आउट भए ।

कप्तान असद भाला ४२ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । ओपनर किप्लिन डोरिगा २६ रनमा रन आउट भए ।

राइली हेरुकेले २० रन बनाउँदा चाल्स अमिनीले १४ रन बनाए । पीएनजीलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

सन्दीपले १० ओभरमा ३७ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ९ ओभर १ बलमा ३७ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ६० रन खर्चिएर विकेट लिएका हुन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।

करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

यसै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए । आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् । सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए ।

पीएनजीका लागि सिमो कमायले ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।

घरेलु मैदानमा नै पीएनजीसँग गत वर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा ३४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

पीएनजी ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ ।


ताजा खबर