राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको जीवनी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म विसं. २००१ असोज २९ गते शनिबार तनहुँ जिल्लाको साविकको मिर्लुङ्, बाहुनपोखरा हालको व्यास नगरपालिका वडा नं ८ मा भएको हो । पौडेलको जन्म मध्यमवर्गीय किसान परिवारमा आमा ऋषिमाया पौडेल र पिता दुर्गाप्रसाद पौडेलबाट भएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति निर्वाचित पौडेलको नेपालको राजनीतिमा ६ दशक भन्दा लामो योगदान छ । राजा महेन्द्रले ०१७ सालमा शासन हातमा लिएपछि प्रजातान्त्रिक सोंच र संस्कारमा हुर्किनु भएका पौडेल १६ वर्षकै उमेरमा तत्कालिन कठोर राजनीतिमा होमिनु भयो । नन्दीरात्रि माविबाट एसएलसी उत्तिर्ण पौडेल नन्दीरात्रि मावि र रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष समेत हनुभयो ।

२०१८ सालबाटै नेपाली कांग्रेसद्वारा सञ्चालित क्रान्तिमा सहभागी पौडेल ०२३ सालमा गण्डकी छात्र संघको संस्थापक अध्यक्ष र सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभयो । २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव रहनुभएका उहाँ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य रहनुभयो । त्यसपछि जिल्ला राजनीतिको समेत नेतृत्व गर्नुभएका नवनिर्वाचित राष्ट्रपति पौडेल २०४० मा काँग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख बन्नुभयो ।

२०६२ – २०६४ सम्म काँगेस केन्द्रीय महामन्त्री रहनुभएका उहाँ २०६४ – २०७२ सम्म केन्द्रीय उपसभापति हुनुभयो । २०६४ –२०७० सम्म नेपाली काँग्रेस संसदीय दलको नेता समेत हुनुभएका पौडेल २०७२मा नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति बन्नुभयो । त्यसपछि नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ रहनुभएको पौडेल २०७९ फागुन २५ गते देशको राष्ट्रपति निर्वाचित हुनुभएको हो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोनका क्रममा २०१८ सालदेखि २०५९ सम्ममा कैयौं पटक गिरफ्तारी र पटक पटक गरी करिव १४ वर्ष जेल जीवन विताउनुभएको छ ।

राजनीतिक अनेक हण्डरलाई शान्त, सरल र स्वभाविकरुपमा ग्रहण गर्दै निष्ठापंर्वक अघि बढ्नुभएका पौडेल २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुहुन्छ । २०४८ र २०७९ मा तनहुँ क्षेत्र नं १ र बाँकी कार्यकाल तनहुँ २ बाट उहाँ निर्वाचित हुनुभयो । २०४८ सालमा पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त पौडेल २०४९ साउन देखि २०५१ कृषिमन्त्री रहनुभयो । २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित उहाँले २०५६ देखि २०६४ सम्ममा उपप्रधानतथा सूचना/सञ्चार स्थानीय विकास, उपप्रधानतथा गृह र शान्तितथापुनःनिर्माण मन्त्रीको समेत जिम्मेवारी सम्हालनुभएको छ । शान्ति समितिको संयोजक समेत रहि सक्नु भएका पौडेल २०६४ देखि २०७० सम्म नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि रहनुभयो ।

मानव अधिकार सम्बन्धी विभिन्न पुरस्कारबाट सम्मानित नवनिर्वाचित राष्ट्रपति पौडेल जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ बाट पनि सम्मानित हुनुहुन्छ । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रिक विचारका चिन्तक पौडेलकाराजनीतिक दर्शन, चिन्तन र सिद्धान्तका ११ वटा पुस्तक पनि प्रकाशित छन् । स्पष्ट, निष्पक्ष र साहसी विश्लेषकको छवि समेत बनाउनु भएका पौडेलका अनगिन्ती लेख र केही साहित्यिक रचना समेत प्रकाशित छन् । नेपालका सवै जिल्लाका साथै दुइ दर्जन बढी देशको भ्रमण गरिसक्नुभएका नवनिर्वाचित राष्ट्रपति पौडेल जीवन र जगतको गहिरो अध्ययन र विश्लेषण गर्ने क्षमता राख्नुहुन्छ ।

राजनीतिकमा समाजवादी चिन्तक र प्रयोगकर्ताको विशेष पहिचान बनाउनु भएका पौडेल स्वच्छ छवि, सादाजीवन र उच्च विचारका प्रयोगधर्मी हुनुहुन्छ । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता पौडेल नेपाली काँग्रेस र देशको राजनीतिमा समन्वयकारी र मध्यमार्गी नेताका रुपमा परिचित हुनुहुन्छ । त्यसैले उहाँ पार्टी राजनीति जहिले सन्तुलित र संयमीत रहनुभयो । तत्कालिन माओवादीलाई जनयुद्धबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिको काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पौडेल विस्तृत शान्ति सम्झौताका मस्यौदाकार पनि हुनुहुन्छ ।

सधै सहमति र सहकार्यका पक्षपाती नवनिर्वाचित राष्ट्रपति पौडेल अव नेपाल र नेपालीको सुख, शान्ति र सम्बृद्धीका लागि अविभावकीय भूमीकामा पुग्नुभएको छ ।


ताजा खबर