राष्ट्रपति निर्वाचन आज : मतदान १० वजे देखि ३ वजे सम्म

राष्ट्रपत  निर्वाचन आज हुदैछ । निर्वाचनका लागि वानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ ।

संघ र प्रदेश सभाका सदस्यहकालागि मतदान गर्न वेग्ला वेग्लै मतदान केन्द्र निर्माण गरिएको निर्वाचन प्रमुख अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेकाछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

उम्मेदवारको फोटोसहितको मतपत्र

निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रअनुसार राष्ट्रपतिको निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुनेछन् । सङ्घीय संसद्का सदस्यका लागि एक थरीको र प्रदेश सभा सदस्यका लागि अर्को थरीको मतपत्र छापिएका छन् ।

दुवै मतपत्रमा उम्मेदवारको फोटोसहितको नाम उल्लेख गरिएको छ । सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरमा लेखिएको मतपत्र प्रयोग गरिनेछ । प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको छ ।

मतपत्रको पहिलो क्रममा उम्मेदवार रामचन्द्र पौडेलको र दोस्रो क्रममा उम्मेदवार सुवासचन्द्र नेम्वाङको नाम उल्लेख छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको फोटो र नाम उल्लेख गरिएको कोठाभित्र स्वस्तिक चिह्न लगाएर मतदान गरिने जनाएको छ ।

पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुनेछ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको हो । पौडेललाई नेपाल समाजवादी पार्टीको समेत समर्थन छ ।

नेकपा (एमाले)का उम्मेदवार नेम्वाङको प्रस्तावक र समर्थक सबै जना सोही दलका छन् । सङ्घीय संसद् र प्रदेश सभामा कुल १४ दलको प्रतिनिधित्व छन् । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले भने अझै निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मतदानमा भाग नलिने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा मात्रै छ । प्रतिनिधि सभामा सो दलको १९ जना सदस्य छन् । हाम्रो नेपाली पार्टीको भने बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित एक जना सदस्य छ ।

राष्ट्रपति निर्वाचनमा ८८२ जना मतदाता छन् तर जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएपछि कुल मतदाता ८८१ कायम हुने भएको छ ।

सङ्घीय संसद्को राष्ट्रिय सभाका ५९ र प्रतिनिधि सभाका २७३ तथा प्रदेश सभाका ५५० जना गरी ८८२ मतदाता रहेकोमा प्रतिनिधि सभाका अब २७२ सदस्यले मात्रै मतदान गर्न पाउनेछन् ।

प्रतिनिधि सभामा चितवन–२ रिक्त छ । मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेकाले उहाँको नाम मतदाताको सूचीमा छैन । महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो नेपाल प्रहरीको फरार सूचीमा हुनुहुन्छ ।

मतभार ५२ हजार ५४९

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहने निर्वाचकमण्डल हुनेछ । निर्वाचकमण्डलमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ कायम गरिएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को दुवै सदनका सदस्यको कुल मतभार २६ हजार १४९ हुनेछ । प्रदेश सभा सदस्यको मतभार २६ हजार चार सय हुनेछ । यसरी कुल मतभार ५२ हजार ५४९ कायम भएको छ । ऐनबमोजिम दुई जना उम्मेदवारमध्ये २६ हजार २७५ वा सोभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् ।

मतपरिणाम आजै आउने 

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति पदको मत परिणाम बिहीबार नै आउने जनाएको छ । निर्वाचन अधिकृत पौडेलले ३ बजे मतदान सम्पन्न भएपछि उम्मेदवारको निर्वाचन प्रतिनिधिसँगको सहमतिमा केही समयपछि मतगणना सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहीबार साँझ ७ बजेभित्र मतपरिणाम सार्वजनिक हुने गरी गणनाको तयारी गरिएको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि फागुन २८ गते सकिँदै छ । बिहीबार हुने मतदानबाट गणतन्त्र नेपालको चौथो राष्ट्रपति निर्वाचित हुनेछन् । रासस


ताजा खबर