युएईमाथि नेपालको शानदार जित

सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको शानदार जित हात पारेको छ ।

योसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अङ्कका साथ लिग २ मा पाँचौँ स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अब चारमध्ये दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएई ४५ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । युएईका ओपनर आसिफ खानले सर्वाधिक ८२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो ।

४२ औँ ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई कट एण्ड बोल्ड गरेपछि नेपाल जितनजिक पुगेको थियो ।

सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए । तर पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाए पनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पुनरागमन गराएका थिए । दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए ।

आरिफले ३० औँ ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

सोमपाल कामीले ३४ औँ ओभरको पाँचौँ बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । मुस्तफा सोमपाल कामीको बलमा ६ रनमा एलबीडब्लू आउट भए । आयन खान २ रनमा रन आउट भएपछि नेपाल खेलमा फर्किएको थियो ।

blog

नेपालका दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका मध्य क्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो ।

आरिफ शेख ४३ रनमा अविजित रहे । प्रतिश जि.सी ११ रनमा अविजित रहे । नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौँ विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सन्दीप २७ रनमा आउट भए ।

युएईका जुनैद सिद्दिकले ३ विकेट लिए । रोहन मुस्तफाले २ विकेट लिए । आर्यन लाक्राले २ विकेट लिए । कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो ।

अब लिग २ को अन्तिम सिरिज नेपालमा बिहीबारदेखि नेपालमा सुरु हुनेछ । नेपाल, पपुवा न्यु गिनी र युएईबिच टियुमा त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।


ताजा खबर