राष्ट्रपतिमा आठ दलले कांग्रेसका उम्मेदवारलाई सघाउने

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले काँग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो, त्यसमा हामीले सहमति जनाएका छौँ ।”

व्यक्तिगत रूपमा कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा कांग्रेस पार्टीले नै छनोट गर्ने उहाँको भनाइ थियो । बैठकपछि प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेता ज्वालाले भन्नुभयो, “आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ, सबै दलहरू मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनता लगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”

उपराष्ट्रपतिको निर्वाचनको सवालमा भने कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो ।

आठ दलभित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी हुनुभएको थियो ।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।

आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँताउने सहमति गरेको थियो । नेकपा (एमाले) ले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आउनुभएको थियो । रासस


ताजा खबर