अब सरकारले दिने आकस्मिक बिदामा बैंक बन्द नहुने

सरकारले दिने गरेको आकस्मिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द नहुने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले आकस्मिक रूपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।

“नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्ट लगायतका अत्यावश्यक बैंकङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ,” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

No description available.

यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिन बाहेक अन्य दिन सेवा दिनुपरेमा ब्यांक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पूर्व जानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो। तर, अब आकस्मिक रूपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा सेवा दिनुपर्नेछ। रासस


ताजा खबर