राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली आज सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

ती नामबारे फागुन १० गते बिहान ११ बजेदेखि भोलि ११ गते १२ बजेसम्म उजुरी दिन सकिने र फागुन ११ गते १२ बजेदेखि अपराह्न ३ बजेसम्म आवश्यक जाँचबुझ गर्ने र सोही दिनको ३ देखि ४ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ । यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रतिसदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ रहेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । रासस


ताजा खबर