घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहज रुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताउनुभयो । “हामी पाँच दशक अघि खाद्यान्न निर्यात गर्थ्यौँ । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।

लघु, घरेलु तथा साना उद्योगमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत पहल गरेको पनि दाहालले बताउनुभयो । त्यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन ।” दाहालले भन्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालको परम्परागत सीपलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभयो । “निर्यात प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेको आवश्यकता हो । हाम्रो पुरानो सीपलाई व्यवसायीकरण गरेर आत्मनिर्भर बन्ने मात्र होइन हामी निर्यात प्रवर्द्धनमा पनि लाग्नुपर्छ । नेपालमा उत्पादित वस्तुले बजार पाउन थालेको छ । तपाईँहरू उत्पादन बढाउनतिर लाग्नुहोला ।” मन्त्री चौधरीले भन्नुभयो ।

बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङले मौलिक र स्वदेशी उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेला करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।


ताजा खबर