प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका  प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बुधबार विहान १०ः३० बजे बालुवाटार पुग्नुभएको शर्माले बताउनुभयो ।

छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श हुनसक्ने बुझाई सचिवालयका सदस्यहरुको छ । पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनु पर्ने माग गर्नुभएको छ । सो विषयमा उहाँले मंगलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।


ताजा खबर