२४ औँ पोखरा सडक महोत्सव सुरु

पोखरमा बुधबारदेखि २४ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नारासहित रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

लेक साइडको हल्लन चोकबाट सुरु विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले कोमागाने पार्क पुगेर औपचारिक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभयो ।

पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरू रमाएका थिए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयो ।

खुल्ला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवलाई लक्षित गरि लेकसाइड क्षेत्र दुलही झैँ सिँगारिएको छ । पुस १७ गते सम्म सञ्चालन हुने महोत्सव रङ्गीचङ्गी भएको छ । महोत्सव सञ्चालन हुने दायाँबायाँका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी ध्वजा पताकाले टाँगेर सिँगारिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छन् ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बाल उद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रम हुनेछन् । कोरोनापछि यो महोत्सवले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।


ताजा खबर