को हुन् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ?

नवनियुक्त प्रधानमन्त्री  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभएको थियो । उहाँले एमपीएसम्मको अध्ययन गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गर्नुभएको हो । विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उहाँको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ ।

उहाँ नारायणी विद्या मन्दिर मावि शिवनगर (२०२९) साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गर्नुभएको थियो । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचाँै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभयो ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएको थियो ।

विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभएका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो ।

साथै उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन ।

विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो ।

यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी हुनुभएको हो । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुभएको हो ।

अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या भाग (१, २ र ३), सांस्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरुलगायतका पुस्तक प्रकाशित छन् ।


ताजा खबर