माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र ०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलि दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

त्यसअघि आजै बेलुका ५ बजेभित्र राष्ट्रपति कार्यालय शीतल निवास पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पदका लागि दाबी पेश गर्नुभएको थियो ।

राष्ट्रपति समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत लगायतका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको छलफलमा अध्यक्ष प्रचण्डलाई नेकपा एमालेका ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदसहित कूल १ सय ६६ सांसदको समर्थन जुटेको थियो ।

राष्ट्रपति समक्ष नयाँ सरकारको दाबी पेश गर्ने समय सम्ममा स्वतन्त्र सांसदहरु डा अमरेश कुमार सिंह, प्रभु साह र किरण कुमार साहले पनि समर्थन जनाएपछि माओवादी अध्यक्ष प्रचण्डको पक्षमा कूल १ सय ६९ सांसदको समर्थन जुटेको हो ।

यस्तै आज दिउँसोसम्म नयाँ सरकार गठनका लागि हालको सत्ता गठबन्धन दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा पटक–पटक छलफल भए पनि सहमति हुन सकेको थिएन ।

सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि छलफल चलाएपछि नयाँ गठबन्धन निर्माण भएको थियो ।

बालकोटको छलफलपछि नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पहिलो ठूलो दलले सरकार गठनका लागि दाबी पुर्‍याउन नसकेपछि दोस्रो दलको हैसियतले निकास दिनका लागि आफूहरूले नयाँ गठबन्धन निर्माण गरेको बताउनुभयो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकारको दाबी गर्न आज बेलुका ५ बजे सम्मको समय दिनुभएको थियो ।

May be an image of text that says "राष्ट्रपति राष्ट्रपति भवन महाराजगऊ्ज, काठमाडी. नेपाल। मिति २०७९ पुस १० विषय: प्रधानमन्त्री पदमा नियुक्ति। श्री पुष्पकमल दाहाल "प्रचण्ड", माननीय सदस्य, प्रतिनिधि सभा। नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम तपाईलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको छु छु। प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई सहित कार्यकालको सफलताको कामना गर्दलु 4u ਮਜਆਰਤੀ विद्यादेवी भण्डारी) राष्ट्रपति"


ताजा खबर