नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज गराइने

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

blog

प्रतिनिधिसभामा नवनिर्वाचित ज्येष्ठ सदस्य जबराले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ हिजै लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।

हिजोसम्म २६ जनाले नेपाली बाहेकका अन्य १४ वटा मातृ भाषामा शपथ गर्नका लागि संसद सचिवालयमा जानकारी गराएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । -रासस


ताजा खबर