मानव अधिकार पुरस्कार यस वर्ष प्रा.कपिल श्रेष्ठ र मानव सेवा आश्रमलाई

यस वर्षको मानव अधिकार पुरस्कार वरिष्ठ मानव अधिकारवादी प्राध्यापक डा.कपिलमान श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै संस्थातर्फ मानव अधिकार पुरस्कार मानव सेवा आश्रमले प्राप्त गरेको छ ।

ती पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज आयोजित एक समारोहकाबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा कानुन मन्त्री कार्कीले मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व भएकाले त्यसतर्फ नेपाल सरकार चनाखो भएर काम गर्दै आएको बताउनुभयो ।

मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको सामाजिक न्यायसहितको समावेशी शासन र मानव अधिकारमैत्री वातावरण निर्माण गरी नागरिकको राज्यसँगको अपनत्व बढाउनेगरी नेपाल सरकार क्रियाशिल रहेको बताउनुभयो ।

मन्त्री कार्कीले संविधानले सूनिश्चित गरेबमोजिम राज्यका विभिन्न वर्ग र क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत संसदमा प्रतिनिधित्व सुनिश्चित भएको पनि बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व प्राध्यापक डा. श्रेष्ठ र मानवसेवा आश्रमका सचिव सुमन बर्तौलाले मानवअधिकार पुरस्कारले आफूहरूलाई थप जिम्मेवार बनाएको अनुभूति भएको बताउनुभयो ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले नेपालको मानवअधिकार क्षेत्रमा क्रियाशिल व्यक्ति र संस्थाको सम्मानका लागि स्थापित मानवअधिकार पुरस्कारले मानवअधिरको संरक्षण र सम्वर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


ताजा खबर