नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि छलफल गर्ने

सदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टीको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धन दल र अन्य दलहरूसँग संवाद, वार्ता र छलफल प्रारम्भ गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले जनताको जनादेश नेपाली काँग्रेसको नेतृत्वमा नै आगामी सरकार गठन हुनुपर्ने देखिएकाले सो अनुसार वर्तमान गठबन्धन र आवश्यकता अनुसार अन्य दललाई पनि सामेल गर्ने गरि छलफल र संवादलाई अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी संसदीय दलको नेता चयन प्रक्रियालाई अगाडि बढाउन पार्टीका सहमहामन्त्री भीष्मराज आङदाम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । सो समितिको सदस्यमा काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) रहनुभएको छ ।

यस्तै बैठकले सात वटै प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन वा समर्थन गर्न वा अन्य विकल्पमा मध्यनजर राख्दै सरकार बनाउने प्रक्रिया अगाडी बढाउन प्रदेश समितिहरूलाई निर्देशन दिएको पार्टी प्रवक्ता डा महतले बताउनुभयो ।

पार्टी प्रवक्ता डा महतले सकेसम्म सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन होस् भन्ने धेरैको चाहना रहेको बताउनुभयो ।

प्रवक्ता डा महतले पार्टीभित्र बाहिर सबैले स्वीकार गर्ने नेतृत्वको खाँचो रहेको बताउँदै सर्वसम्मत रुपमा नेताको चयन हुँदा राम्रो सन्देश जाने भएकाले त्यसतर्फ विशेष कोसिस गरिने जानकारी दिनुभयो ।

संसदीय दल निर्वाचन परियोजनका लागि गठित निर्वाचन समितिले मङ्गलवार वा बुधवारसम्म संसदीय दलको नेताको चयन प्रक्रिया अगाडि बढाउने पनि प्रवक्ता डा महतले बताउनुभयो ।


ताजा खबर