लियोनल मेस्सी बने फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी

आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाउनुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

blog

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाए । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरे । उनले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राखेका थिए ।

पाँचौं पटक विश्वकप खेलेका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

फाइनल खेलमा दुई गोल गरेका मेस्सीले यस विश्वकपमा सात गोल गरे । उनले चार गोलका लागि असिस्ट पनि गरेका थिए । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी घोषित भएको दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वमपमा पनि यस अवार्ड जितेका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गरेका छन्। मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका थिए ।

छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुमेका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाडेका छन् ।

गोल्डेन बुट केलिएन एमबाप्पेलाई

यसैगरी फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जितेका छन् । सर्वाधिक गोल कर्तााले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गरेका थिए ।

उनले अर्जेन्टिनामा मेस्सीलाई एक गोलले पछि पार्दै यस अवार्ड जितेका हुन् । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा हुन सकेन ।

यससँगै एमबाप्पेको विश्वकपमा ब्यक्तिगत गोलसंख्या १२ पुगेको छ । एमबाप्पेले सिल्भर बल समेत प्राप्त गरे । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचले पाए ।

गोल्डेन ग्लोभ एमिलियानो मार्टिनेजलाई

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेका छन् । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे ।

उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाएका थिए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निभाएका मार्टिनेजले सबै खेल पूरा समय खेलेका थिए।

उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेले । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेज उत्कृष्ट गोलरक्षक भएका थिए ।

यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जितेका छन् । यो अवार्ड २१ वर्षभन्दा कम उमेर भएका खेलाडिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर

कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।

विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी समेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने ब्यवस्था छ ।

यस्तै उपविजेता फ्रान्स ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी लडर पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्  । रोयटर्स 


ताजा खबर