फिफा विश्वकप फाइनलमा रोमाञ्चक सर्वश्रेष्ठ खेलाडी दौड

कतार विश्वकपको उपाधि भिडन्तमा आज केहिवेरमा गत विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। विश्वकप सकिएपछि फिफाले विश्वकपको ट्रफीबाहेक अन्य केही अवार्ड पनि सो पुरस्कार वितरण कार्यक्रममा प्रदान गर्ने गर्दछ। जुन पुरस्कारमा गोल्डेन बल, गोल्डेन बुट, गोल्डेन ग्लोभ्स, फिफा योङ प्लेयर र फेयर प्ले अवार्ड रहेका छन्। जुन पुरस्कारहरू ती खेलाडीहरूलाई दिइन्छ, जसले आ–आफ्नो विधामा सर्वश्रेष्ठ प्रदर्शन गरेका हुन्छन्।

गोल्डेन बल

फिफा विश्वकपमा प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बल दिइनेछ। यस पटक गोल्डेन बलमा फाइनलमा खेल्ने दुई खेलाडी नै दाबेदारका रूपमा देखिएका छन्। ती हुन् लियोनेल मेसी र किलियन एमबापे। अर्जेन्टिनालाई फाइनलमा पु¥याउन सबभन्दा बढी योगदान दिने मेसीले आफ्नो टिमले गरेका गोलमध्ये आठमा आफ्नो योगदान दिएका छन्। उनले पाँच गोल गरेका छन्। तीन एसिस्ट पनि उनको नाममा छ। सन् २०१४मा मेसीले गोल्डेन बल जितिसकेका छन् । अर्जेन्टिनाले उपाधि जितेमा मेसी निर्विवाद रूपमा गोल्डेन बलको हकदार बन्नेछन्।

गोल्डेन बुट

यस विधामा पनि मेसी र एमबापे नै दाबेदारका रूपमा प्रस्तुत भएका छन्। विश्वकपमा सबभन्दा बढी गोल गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। यसमा पनि मेसी अगाडि छन् भने एमबापेले उनलाई पछ्याइरहेका छन् । मेसी र एमबापे दुवैले पाँच–पाँच गोल गरेका छन्। यद्यपि एमबापेको दुई असिस्टको तुलनामा तीन असिस्ट गरेको मेसी फाइदामा छन् । दुवै खेलाडीको समान गोल भएमा टाइब्रेकरको रूपमा असिस्टलाई गणना गर्ने गरिन्छ। यस होडमा अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेज र फ्रान्सका ओलभिर जिरु पनि छन्। यी दुवै खेलाडीले चार–चार गोल गरेका छन्।

गोल्डेन ग्लोभ

विश्वकपमा सबभन्दा उच्च प्रदर्शन गर्ने गोलरक्षकलाई गोल्डेन ग्लोभ अवार्ड प्रदान गरिन्छ। कतार विश्वकपमा क्रोएसियाका डोमिनिक लिभाकोभिच, पोल्यान्डका वोसिच सेस्ने, मोरक्कोको यसिन बोउनोउ र अर्जेन्टिनाका इमिलियानो माटिनेज गोल्डेन ग्लोभ अवार्डका होडमा छन्। यसमध्ये पनि मोरक्कोको गोलरक्षक बोउनोउको सम्भावना धेरै देखिन्छ। सेभियाका गोलरक्षक बोउनोउले स्पेन र पोर्चुगलविरुद्धको खेलमा आफ्नो शानदार गोलरक्षणले नै मोरक्कोलाई जित दिलाएका थिए । उनले पाँच खेलमा तीन क्लिनसिट बनाए। बोउनोले तेस्रो स्थानको खेलअघि मात्र तीन गोल बेहोरेका छन्।

फिफा योङ प्लेयर

फिफा योङ प्लेयर अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ। यस होडमा इङ्ग्ल्यान्डका विन्गर बुकायो साका पनि छन्। इङ्ग्ल्यान्ड क्वाटरफाइनलबाटै बाहिरिए पनि साकाले यस प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएका छन्। उनले इरानविरुद्ध दुई गोल र सेनेगलविरुद्ध पनि गोल गरे।

फिफा फेयर प्ले ट्रफी

फिफा फेयर प्ले ट्रफी जित्नका लागि टिम कम्तीमा दोस्रो चरणमा पुगेको हुनुपर्छ। फेयर प्ले विधाको दाबेदारीमा इङ्ग्ल्यान्ड सबभन्दा अगाडि रहेको छ। यस प्रतियोगितामा इङ्ग्ल्यान्डले एक पहेँलो कार्ड मात्र बेहोरेको थियो। फ्रान्सविरुद्धको खेलमा इङ्ग्ल्यान्डका हेरी मागयुरले खेलको ९०औँ मिनेटमा पहेँलो कार्डको प्रदर्शन गरेका हुन्। यस विश्वकपमा साउदी अरबले सबभन्दा बढी १४ कार्ड पाएको छ। अर्जेन्टिना र सर्वियाले १२–१२ कार्ड पाएका छन्।


ताजा खबर