राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

निर्वाचन आयोग नेपालले संवत् २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज सम्माननीय राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको स्पष्ट गर्नुभयो । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवाद दिनुभयो । साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

प्रतिवेदन पेश गर्नुहुँदै आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्तसहित माननीय आयुक्तहरू श्री ईश्वरी प्रसाद पौड्याल, श्री रामप्रसाद भण्डारी, श्री डा. जानकी कुमारी तुलाधर, श्री सगुन शम्शेर जबरा, आयोगका सचिव श्री गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलगायतको उपस्थिति रहेको थियो ।


ताजा खबर