आतङ्कवादविरुद्धका मुद्दा राजनीतीकरण नगर्न चीनको जोड

आतङ्कवादविरुद्धका मुद्दालाई राजनीतीकरण गर्न नहुनेमा चीनले जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्कवादविरुद्धका विषयमा हुने राजनीतीकरणको चीन विरोध गर्छ भन्नुभयो ।

चिनियाँ राजदूतले आतङ्कवादविरोधी मुद्दाको राजनीतीकरण, दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतङ्कवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषद्का सबै आतङ्कवादविरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतङ्कवादी सङ्गठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उहाँले बताउनुभयो ।

हालैका वर्षमा केही देशले आतङ्कवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभई  समग्र विश्वव्यापी आतङ्कवादविरुद्धका सहयोगलाई कमजोर बनाउने बताउनुभयो ।

उहाँले आतङ्कवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवम् व्यावहारिक ढङ्गले आतङ्कवादविरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रतिआतङ्कवादका काममा राष्ट्रसङ्घको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिनुभयो । रासस/सिन्ह्वा


ताजा खबर