समानुपातिकबाट निर्वाचितलाई प्रमाणपत्र पुस ३ गते

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुस ३ गते आइतबार अपराह्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने बताउनुभयो। प्रवक्ता पौडेलले भन्नुभयो, “समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालयमै रहेकाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभा सदस्यलाई आयोग परिसरमै प्रमाणपत्र वितरण गरिनेछ।”

निर्वाचित सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्नुअघि निर्वाचन आयोगले शनिबार सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बुझाउँदै छ। समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृतसमेत रहेका आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले शनिबार सातवटै प्रदेशमा आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने बताउनुभयो।

निर्वाचन आयोगले मङ्सिर २८ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो। जसअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० तथा सातवटै प्रदेशको प्रदेश सभाका लागि ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्।   -रासस


ताजा खबर