राष्ट्रपति भण्डारीद्वारा श्रीराम मिथिला शिक्षालयको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसादराई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताउनुभयो ।

‘‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’’ राष्ट्रपति भण्डारीले भन्नुभयो,‘‘यो प्राविधिक शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ । शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ ।’’

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको नाममा शिक्षालय स्थापना गरिदिनु भएको हो । दुर्गम ठाउँका स्थानीयहरुमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा यहाँ ११ करोड ३९ लाख ७३ हजार आठ सय रुपैँया लागतमा शिक्षालय निर्माण गरिएको हो ।

राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफु अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गर्नु भएको छ । जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका परिवारले १८ रोपनी जग्गा निःशूल्क दिनु भएको हो । रासस


ताजा खबर