अर्जेन्टिना विश्वकप फाइनलमा : क्रोएसिया ३-० ले पराजित

अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

Image

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो । सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे । अर्जेन्टिनाले ३४औं मिनेटमा पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको उत्साह जगाए । डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गरे ।

Image

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औं गोल हो । मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका छन् ।

जारी विश्वकपमा पाँच गोल गरेका मेस्सी गोल्डेन बुटको समेत दौडमा छन् । मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहेका फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गरेका छन्।

पाँचौं पटक विश्वकप खेलिरहेका मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडी जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान समेत बराबरी गरेका छन् ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । उनले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै बललाई जाली चुमाएका थिए ।

त्यसपछि ६९औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा पुर्याए । उनले दोस्रो गोल मेस्सीको पासमा गरेका थिए । बल पोसेसनमा अब्बल देखिएको क्रोएसियाले गोल फर्काउन भने सकेन ।

पहिलो हाफमा आक्रामक देखिएको क्रोएसिया अर्जेन्टिनाको पेनाल्टी गोलपछि दबाबमा रह्यो । ६१ प्रतिशत बल पोसेसन राखेको क्रोएसियाले अन्तत: गोलरहित हार खेप्यो । साविक उपविजेता क्रोएसियाको दोस्रो पटक फाइनल पुग्ने लक्ष्य सफल भएन ।

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

भिडियो हाइलाईट्स

https://www.youtube.com/watch?v=NAV_kkkzBto

रोयटर्स 

भिडियो सौजन्य : लायन गेम्स्


ताजा खबर