विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ । दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई पाखा लगाउँदै अन्तिम चारमा आइपुगेका हुन् । अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई र क्रोएसियाले पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गरेको हो ।

आज भिडन्त हुने यी दुई टोलीबीच हालसम्म फिफा विश्वकपका समूह चरणका खेलहरुमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १-० गोलले क्रोएसियामाथि जीत दर्ता गरेको थियो । त्यसको बदलामा क्रोएसियाले २०१८ मा रसियाको विश्वकपमा ३-० गोलले यादगार जीत निकालेको थियो ।

फिफा विश्वकप २०२२ मा भने यी दुई टोलीहरु पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०१४ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २-१ को जीत निकाल्दा सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३-२ को जीत निकालेको थियो ।

त्यसैगरी सन् १९९४ मा खेलिएको अर्को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो । अर्जेन्टिनाले पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमा एकमा मात्र हार व्यहोरेको छ भने क्रोएसियाले १२ वटा विश्वकप खेल खेल्दा एक मा हार व्यहोरेको छ ।

यता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने आजको खेलसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा प्रस्तुत हुँदैछन् । मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमानी बराबरी गर्दै विश्वकपमा २५ औं खेल खेल्ने खेलाडी बन्दैछन् ।

सेमिफाइनल पछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै मेस्सी सर्वाधिक विश्वकप खेल्ने कीर्तिमानी खेलाडी समेत घोषित हुनेछन् ।-रोयटर्स


ताजा खबर