इङग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर गिरोडले गोल गर्नुभयो । इङग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काउनुभयो ।

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले १७औं मिनेटमा चुवामेनीको गोलमा सुरुवाती अग्रता लिएको थियो । चुवामेनीले एन्टोइन ग्रीजम्यानको पासमा गोल गर्नुभएको थियो ।

इङ्ग्ल्यान्डले दोस्रो हाफको सुरुवातमा पेनाल्टी गोलमार्फत खेललाई बराबरीमा ल्यायो । ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्नुभयो ।

फ्रान्सका चुवामेनीले बुकायो साकालाई डिबक्सभित्र फल हानेपछि इङ्ग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसलाई केनले सदुपयोग गर्नुभयो । यस गोलसँगै केनले इङ्ग्ल्यान्डमा वायन रुनीको नाममा रहेको ५३ गोलको कीर्तिमानसँग बराबरी गर्नुभएको छ ।

त्यसपछि ७८औं मिनेटमा गिरोडले हेडगोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाउनुभयो । उहाँले ग्रीजम्यानकै पासमा गोल गर्नुभएको थियो । रोचक खेलमा इङ्ग्ल्यान्डले ८४औं मिनेटमा पाएको अर्को पेनाल्टी मिस गर्दा हार खेप्यो ।

केनको पेनाल्टी प्रहार बाहिरिएको थियो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई डिबक्सभित्र लडाएपछि इङ्ग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो पेनाल्टीमा केन चुकेपछि इङ्ग्ल्यान्डको विश्वकप यात्रा क्वार्टरफाइनलमा सकियो । जसले साविक विजेता फ्रान्सलाई उपाधि रक्षाको बाटोमा अगाडि बढायो ।

यस खेलसँगै कतार विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब फ्रान्सले सेमिफाइनलमा बुधबार अफ्रिकी देश मोरोक्कोको सामना गर्नेछ ।

शनिबार राति नै भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । अर्को सेमिफाइनल खेलमा मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । रोयटर्स


ताजा खबर