पुस्पा तिमी निर्भिक हुनु थियो

~ज्वाला ढकाल
पुस्पा तिमी निर्भिक हुनु थियो
संसार अगाडी बढनेहरूको हो
आकाश हावामा उड्दै
कावा खानेहरुको हो
नदी र समुद्रहरु
भेल र छालहरुमा उर्लिदै बहनेहरुको हो
यो फुलबारि र फुलहरू
सुन्दरताका पारखिहरूको हो
यि पहाड र हिमालहरू
पहाड जस्तै दृढ मनोवल हुनेहरूका लागि हो
पुस्पा तिमी निर्भिक हुनु थियो
एउटा आएको हावाको झोकामा
तिमी नबहकिनु थियो
एउटा चर्को घाममा
तिमी भुतुक्क नगल्नु थियो
एक सांझ घाम डुब्दै गर्दा
तिमी संगै नडुब्नु थियो
त्यो सांझ डुबेको सुर्य
अर्को बिहानै उदायो
तर तिमी
सधैका लागि अस्तायौ
एकाबिहानै चन्द्र अस्ताउदै गर्दा
तिमी नअस्ताउनु थियो
पुस्पा तिमी निर्भिक हुनु थियो
तिमी नहराउनु थियो
तिमी नडराउनु थियो
तिमी ननिभ्नु थियो
तिमी निभिदियौ
अरु धेरै पुष्पा हरुको लागि
तिमीले पाठ दिन भुल्यौ
बाटो देखाउन भुल्यौ
यसरि कुनै दिशा निर्देश नगरि
तिमी नअस्ताउनु थियो
पुस्पा तिमी निर्भिक हुनु थियो
एउटै शितमा नमुर्झाउनु थियो
एउटै रातमा तिमी
नतर्सनु थियो
पुस्पा तिमी निर्भिक हुनु थियो।।

ताजा खबर